म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग
म्याग्दी | कात्तिक १०, २०७९
म्याग्दी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।”
सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने सिग्देलले बताउनुभयो ।
यसैबीच यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई पलाष्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो ।
आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई पलाष्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

